एपीएफ सेमिफाइनलमा, सुदूरपश्चिम फराकिलो गोल अन्तरले पराजित

राजु तामाङ
२८ चैत्र २०७५, बिहीबार २०:४६

सर्लाही – सर्लाहीमा जारी तेस्रो राजश्री जनक कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमलाई फराकिलो गोल अन्तरले हराउँदै सशस्त्र प्रहरी क्लब (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार स्व: सन्तोष श्रेष्ठ स्मृति खेलमैदान बागमतीमा भएको खेलमा एपीएफले डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिम- ११ लाई ४-० गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । एपीएफको जितमा प्रबिन स्याङ्तानले दुई गोल तथा सुदिप शिखराकार र प्रदिप लामाले १-१ गोल गरे ।

खेलको २९ औं मिनेटमा आशिस लामाले दिएको क्रस बललाई प्रबिन स्याङतानले हेड मार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । डिफेन्डिङ च्याम्पियन समेत रहेका सुदूरपश्चिम उच्च मनोबलका साथ मैदान उत्रिए पनि खेलको सुरुवातीबाट नै एपीएफको दबाबमा परेको थियो ।

खेलको ४० औं मिनेटमा सुदूरपश्चिमका बिदेशी खेलाडी कोभादिओले डिबक्स भित्र हेन्ड गर्न पुगेपछि एपीएफले पेनाल्टीको राम्रो अवसर पाए सोही अवसरलाई सदुपयोग गर्दै सुदिप शिखराकारले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै, खेलको ५२ औं मिनेटमा प्रबिन स्याङतानको पासमा प्रदिप लामाले थप गोल गर्दै अग्रतालाई फराकिलो बनाउदै लगे । खेलको ८८ औं मिनेटमा विपक्षी खेलाडीको खुट्टबाट बल खोस्दै एक्लैले गोल गरेर सुदूरपश्चिमलाई स्तब्ध बनाए ।

एपीएफले यस अघि नै सेमिफाइनलमा पुगिसकेको रुस्लान थ्री स्टार सँग बैशाख ३ गते सेमिफाइनलको पहिलो खेल खेेल्नेछ । दुई गोल गर्ने एपीएफका प्रबिन स्याङतान खेलको म्यान अफ दि म्याच घोषित भए संगै नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा शुक्रबार खेलभने बिरगंज युनाइटेड र फ्रेण्ड्स क्लब बीच हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*