डोल्मा

ढाकरमा सग्लै चोमोलुङमा खाँदेर
घरी तेङ्बोचे भीर
घरी स्यङ्बोचे थुम्को
घरी गोकियो री
त घरी आमादब्लामको काँध
चढिरहन्छे डोल्मा ।
आफ्नै गालाको फेदिबाट बगिगएको दुधकोशी
कुन पसिनाको सुबास बोकेर बग्छ ?
जान्दिनन् डोल्मा ।
आज पनि सबेरै
उही हाँसोले
आधार सिविरको शान्ति भत्काएर गयो
धेरैलाई थाहा छ, डोल्मा सजिलै हाँसिदिन्छे
ढाकरले थिचिरहँदा नि हाँस्छे !
टोक्मामा ढाकर बिसाउँदा नि हाँस्छे !
आँखामा पिरो छ्याप्ने पसिना पुछ्दै हाँस्छे !
भित्रभित्रै आँसुको दुधकोशी उर्लिँदा नि
थामसेर्कु झैँ हाँसिदिन्छे डोल्मा ।
कुनै कुरा यति सजिलै हुनुको पछाडी पनि
अप्ठेरो कारणहरुले घोचिदिनु पर्यो ।
तेम्बा र आङछिरिङ
उनी हाँसेको देखे पछि मात्र हाँस्छन्
बृद्ध सासू
उनि हाँसेको देखेपछि मात्र दुःखको गाँठो फुकाउँछन्
त्यही हाँसोको जिर्माले पासाङ मातेपछि नै
घरजम भएको हो उसको पनि ।
तीन साल अघि
त्यही तेङ्बोचे भीरले निलेपछि पासाङलाई
डोल्माले अप्ठ्यारोमा पनि सजिल्यै
यसरी हाँस्न सिकेकी हुन् ।
डोल्मा, घाउ जित्न सक्छे
डोल्मा, भोक बिर्सन सक्छे
डोल्मा, दुःख भुल्न सक्छे
डोल्मा, सजिल्यै हाँस्न सक्छे ।
डोल्माले यति सजिल्यै हाँस्नसक्ने हुन
घाउले चहराई दिनु पर्यो
भोकले उम्लिदिनु पर्यो
दुःखले पनि उभिदिनु पर्यो ।
सग्लै चोमोलुङमा बोकेर
हाँस्न सक्छे डोल्मा ।