गाईमारा भर्सेस् भाइमारा
स्कुल पढ्दादेखि नै
नगर्नु पर्ने शंका गर्थे
साथीहरूले मलाई ।
गुरूहरू,
अापसी कानेखुसी गरेको सुन्थें
साउती मारेको देख्थेँ
यसको पुर्खाले त गाई खान्छ गाई
सायद अहिले पनि खाँदो हो ।
जब म निकै कठिनताका बाबजुद
सिक्दैथेँ भाषा
जस्तो कि
कति गाह्राे हुन्छ
गह्रौं भारी बोकेर गन्तव्य पुग्न
त्यतिबेला मलाई जिस्काएर भाग्थे
पर… पर… सखाहरू
भोटे मरे डाँडामा चामल पिठो भाँडामा ।
म बालाई सुनाउँथें
अाबा ङादा
बामनला कोलाकादेसे जोराङ पाङ्जी
बा सालिन हुनुहुन्थ्यो
मात्र यत्ति भन्नुहुन्थ्यो
मिला लिच्छा थाब्राऊ
खुरू खुरू पढ्दिऊ ।
काकालाई सुनाउँथेँ
अाब्च्याङ ङादा
बामनलाई कोलाकादेसे जोराङ पाङ्जी
हाला थे ङादा अोन्गो
दारेम् तिगाई बिजिबिसाम
पुङ्गो स्वा ताइन्ना, ङा मुला
काका अलिक मुढी हुनुहुन्थ्यो ।
तर……
च्याङ्बाले भने जवाफ फर्काइहाल्थ्यो
अोई ! काठा निउ खोज्छस् ?
आइज जुध्ने ?
सिङ्गल सिङ्गल आइज ।
देश कहाँदेखि कहाँ पुग्यो
म पनि ठूलो भएँ ठूलो
कयौँ वादहरू पनि निलियो
धर्मनिरपेक्षता पनि देखियो
सङ्घीयता पनि देखियो
विद्रोहीहरूले गाई काटेर
भोज गरेको पनि देखियो
तैपनि मलाई अपराधी सम्झेर हेर्छन्
केही जोर अपराधी अाँखाहरूले ।
म त मुस्कानसँग हारेको मान्छे
रिसलाई जितेको मान्छे
कत्तिले मेरो जातसँग जोडेर
कुकुरको अगाडि भोटे जोडिदिए
कत्तिले ताल्चाको अघि
तैपनि चुपचाप छु म
म सोच्छु सकारात्मक सोच्छु
कुकरहरू इमान्दार हुन्छन् भन्ने बुझ्छु
ताल्चाहरू बलिया हुन्छन् भनेर बुझ्छु ।
अब त जरा खोज्न सक्ने भइसकेको छु म
त्यतिबेला मेरा बालसखाहरूको
मस्तिष्कमा रोपिएको जरा ?
तैपनि अवशेषहरू
रिसको नाममा
खुसीको नाममा
दिललग्गीको नाममा
आइलाग्ने गर्छन् मसँग ।
हलि सम्झिन्छन् मलाई हलि
म चेतको ढोकामा देख्छु
लिखुरे चुच्चो ताल्चा
र ताल्चामा देख्छु
लामो डोरो ।
जसले मलाई स्कुल पढ्दा जिस्काउँथे
ऊ बुढी गाई लिएर जान्छ
मेरो घरको आँगन हुँदै सिमा पारिसम्म
पछि पछि पुच्छर समाउँदै
हिँड्छ उसको छोरो
फर्किँदा खसी डोहोर्याउँदै ल्याउँछ
छोरो ललीपप चुस्दै आउँछ ।
सम्धी सञ्चै छ भनी सोध्छ
म एकैखाले जवाफ दिन्न घरिघरि
मात्रै यत्ति सोच्छु
तन्नेरी खसीसँग बुढी गाई किन साट्यो ?
उसको छोराले पुच्छरको दाम किन माग्यो ?
फेरि एकोहोरो रिस किन गरिरह्यो ?
लक्ष्मी भनिने
राष्ट्र प्रतीक मानिनेको पनि
किन मोलमोलाइ गर्यो ?
किन बेचियो ?
किन्नेले मात्र खाने प्रयोजनले किने
बेच्नेले के प्रयोजनले बेचे ?
गाई खाने अपराधी भए
कथित धार्मिक आस्था बेच्ने
र कथित देशकै प्रतीक बेच्ने
देशमाराहरू सज्जन भइरहे ।
मलाई कठघरामा उभ्याइयो
उसले गलाभरि माला पहिरिएर हिँड्यो ।
साहित्यकार : यश लामा
ठेगाना : हेटौडा, मकवानपुर






