दुइ नम्बर प्रदेशमा कर्मचारी भर्ना नगर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुर – दुइ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तर र १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई पत्र पठाएको छ । मुख्यमन्त्रीको निजी सचिवालय मार्फत् मुख्यमन्त्री राउतले मंगलबार आयोगलाई पठाएको पत्र छ ।
प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्रीले यस्तो गरेका हुन । संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार रहेको पत्रमा प्रष्ट पारेका छन ।
पछिल्ला दिनमा सञ्चार माध्ययममा लोकसेवा आयोगले प्रदेश र स्थानीय तह समेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी प्राप्त भएको भन्दै मुख्यमन्त्रीको सचिवालयले कर्मचारीका लागि बिज्ञापन नगर्न आयोगलाई आग्रह गरेको हो ।
नेपालको संंविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेखित गरिएको छ । त्यस्तै, धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र संचालन गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम दुइ नम्बर प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न लागेको जनाइएको छ ।