रौतहटको किसान मकै खेतीतर्फ आकर्षित

चन्द्रपुर – रौतहटमा किसानहरु मकै खेतीतर्फ आकर्षित हुन थालेको छ । खेत बारीबाटै मकैको हरियो घोगा विक्री हुन थालेपछि मकै खेतिप्रति किसानको आकर्षण बढेको बताएको छ ।
बिना झन्झट खेत बाट नै मनग्य आम्दानी गर्न थालेपछि रौतहटका अधिकांश किसानको मकै खेतिप्रति आकर्षण बढेको छ । चन्द्रनिगाहपुर, गैडाटार, सन्तपुर, जुडिबेला, पौराई, डुमरिया लगायतका स्थानमा मकै बालीलाई नगदेबालीको रुपमा खेती गर्दै आइरहेको छ ।
अहिलेको सिजनमा हरिया घोगा बिक्री हुदा पुनः मकै नै रोप्न मिल्ने र धानबाली लगाउन पनि भ्याउने चन्द्रपुर नगरपालिका ६ का किसान मुकुन्द शर्माले बताए । आधुनिक तरिकाले हार लगाएर रोपिएको हाइब्रिट मकैको उत्पादन अत्यधिक हुने भएकोले किसानले मकैलाई नगदेबालीका रुपमा लिने गरेको अर्को किसान बलराम शर्माको भनाइ छ । प्रति कठ्ठा छ हजार रुपियाका दरले हरियो मकैका घोगा विक्री हुने गरेको शर्माको भनाइ छ ।
त्यस्तै, सन्तपुरका किसान लिलाकृष्ण चापागाईंले पनि मकैको हरिया घोगा नै विक्री गरेको बताए । एक बिघा जमिनमा लगाएको मकैको हरिया घोगा विक्रीबाट एक लाख रुपैया कमाइ भएको उनले बताए ।
उखुलाई नगदेवालीको रुपमा लिने रौतहटको उत्तरी क्षेत्रका अधिकांश किसान उखु खेति छोडेर अहिले मकै खेति तर्फ आकर्षित भएको छ ।