गण्डकी प्रदेशको बिजय शुरुवात, कर्णाली पराजित

तौलिहवा – आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । कपिलवस्तुमा सुरु भएको महिला राष्ट्रिय फुटबलमा गण्डकीले कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। बुद्ध रंगशालामा बुधबार बिहान भएको खेलको १७ औँ मिनेटमा अग्रता लिएको गण्डकीले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गर्दै चार गोल गरेको हो।
पहिलो गोल जर्सी नम्बर ११ की मनिषा पंगेनीले गरेकी थिइन् । दोस्रो गोल २९ औँ मिनेटमा जर्सी नम्बर ९ की उद्या थापाले गरिन् । पहिलो हाफमा दुई गोल खाएको कर्णालीले दोस्रो हाफमा थप दुई गोल खायो ।
दोश्रो हाफको पहिलो मिनेटमै गण्डकीकी जर्सी नम्बर ११ की ननिता गुरुङले गोल गरिन् । २९ औं मिनेटमा पहिलो गोल गरेकी थापाले ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै गण्डकीलाई ४-० को अग्रता दिलाइन् ।
दबाबमा देखिएको कर्णालीले गोल गर्ने प्रयास गरे पनि फर्काउन सकेन । ननिता गुरुङ ‘म्यान अफ दि म्याच’ बनिन् ।