बागमती नगरपालिका फाइनलमा प्रवेश

तामसालिङ खबर
५ बैशाख २०७६, बिहीबार ०९:५५

सर्लाही – बागमती नगरपालिकाको टिम तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बागमती नगरपालिका टिमले भुटानको पारो क्लबलाई ३-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै नै कडा प्रतिस्पर्धात्मक रहेको खेलको ११ औं मिनेटमा विमल घर्ती मगरले प्रहार गरेको बललाई क्लियर गर्न खोज्दा भुटानका जर्सी नं. २० का एलोन माक्सवेलले आफ्नै गोल पोस्टमा गोल गर्न पुगेका थिए ।

बागमतीले १ गोलले अग्रता लिए पनि अग्रता धेरै समय टिक्न सकेन १३ औं मिनेटमा बागमतीका विमल घर्ती मगरले आफ्नो डिबक्स भित्र हेन्ड गर्न पुग्दा भुटानले पेनाल्टीको राम्रो अवसर प्राप्त गरे सोही अवसरलाई सदुपयोग गर्दै भुटानका लागि पाल्साङ लामाले १ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

१८ औं मिनेटमा बागमतीका विजय घलानले गोल गर्दै टिमका लागि फेरी अग्रता दिलाए र फेरी खेलको २३ औं मिनेटमा बागमतीका एकेन क्रिस्टियनले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । हाफ पछि निकै लयमा फर्केका भुटानले रक्षात्मक खेल खेले पनि तर गोल भने निर्धारित समयमा फर्काउन सकेन ।

खेलको निर्धारित समयमा ३-१ गोल नतिजा भएपनि ईन्जुरी समयको अन्तिममा भुटानका एलोन माक्सवेलले १ गोल फर्काए पनि जित भने हुन सकेन । भुटानका खेलाडीले निकै नै प्रयास गर्दा बारबार बागमतीका किप्पर नै बाधक बने बागमतीका लागि उत्कृष्ट बचाउ गरे र खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात परे ।

यो जित सँगै बागमती नगरपालिका टिमले शुक्रबार रुस्लान थ्री स्टारसँग उपाधिका लागि भिड्ने छ । चैत २५ गतेबाट सञ्चालन भएको दुइ नम्बर प्रदेशको सर्वाधिक धनराशी भएको तेस्रो राजर्षि जनक कपको विजेता टिमले नगद १० लाख र राजर्षि रनिङ शिल्ड प्राप्त गर्नेछन भने उपविजेताले नगद ५ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उत्कृष्ट विधाका खेलाडीले जनही २० हजार प्राप्त गर्नेछन र सर्लाहीका एकजना उत्कृष्ट खेलाडीले बागमती राईजिङ अफ दि इयर घोषित गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*