‘तिन नम्बर प्रदेशको नाम नेवा-ताम्सालिङ हुने’–कानुनमन्त्री जम्कट्टेल

चन्द्र घलान
८ बैशाख २०७६, आईतवार ०६:३७

हेटौँडा – तिन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले तिन नम्बर प्रदेशको नाम ‘नेवा- ताम्सालिङ’ वा ‘ताम्सालिङ नेवाः’ मध्ये कुनै एक हुनुपर्ने बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ ३ नम्बर प्रदेश समन्वय समितिको व्यवस्थापनमा आईतबार हेटौँडामा भएको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री जम्कट्टेलले त्यस्तो धारणा राखेका हुन् ।

‘प्रादेशिक कानुनमा आदिवासीहरुको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री जम्कट्टेलले प्रदेश नम्बर ३ को नाम खोलानाला र भुगोलको आधारमा राख्ननहुने बताए । प्रदेश ३ को नामको विषय पेचिलो बन्दै गईरहेको भन्दै मन्त्री जम्कट्टेलले भने–‘बाग्मती, गौरीशंकर जस्ता खोलानाला र हिमालको नामबाट प्रदेशको नामाकरण गरेर पहिचान मिल्दैन, पहिचान खोलानालालाई होईन मान्छेलाई चाहिएको हो ।’

पहिचानका सवालमा संघियता कार्यन्वयन गरेर काम सुरु गरेको भएता पनि नाम दिने सवालमा कुरा अड्काउन नहुने समेत उनले बताए । ‘बाग्मती, गौरीशंकर लगायतका नाम राखेर कुन जनता खुशी हुन्छ, यी नामहरु आफै परिचित नाम हुन्, यहाँ पहिचान चाहिएको हो ।’ उनले भने, ‘त्यसैले पहिचान दिनुपर्छ, त्यसका लागि अलिकति पनि हिचकिचाउनु हुँदैन, प्रदेश ३ को नाम नेवाः ताम्सालिङ वा ताम्सालिङ नेवाः हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले प्रदेशमा कानुनहरु निर्माणको चरणमा रहेको र अहिले बजेट कार्यान्वयनका लागि र सरकार चलाउन आवश्यक कानुनहरु मात्रै निर्माण भएको बताए । अन्य कानुनहरु बन्दै गरेको पनि उनले बताए । नामाकरणका लागि आदिवासी जनजातिलाई लबिङ गर्न आग्रह गर्दै उनले आफु माक्र्सवादी भएको र पहिचानको सवालमा आफुले मदत गर्ने बताए ।

उनले कर्मचारी र सरकारबिचको संघर्ष पनि पेचिलो भएको भन्दै अहिले संघीय तहमा सरकार मात्र आएको तर सत्ता नआईसकेको बताए । सत्ता समेत आएपछि भने केही सहज हुने उनले बताए । कार्यक्रममा अधिवक्ता डाक्टर कुन्साङ लामा योञ्जनले प्रदेश कानुनमा आदिवासी जनजातिको अधिकारको सवाल विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा ३ नम्बर प्रदेश सांसद कुमारी मोक्तान, ओमबहादुर घलान, प्रेमबहादुर पुलामी छिन्तु, आदिवासी जनजातिका प्रखरवक्ता काजिमान थिङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगर, नगर समन्वय समितिका जंगबहादुर तमु, नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, जिल्ला अध्यक्ष लिलाकुमार घलान, हेटौँडा १२ का वडाअध्यक्ष ललित घलान, नगर घेदुङ सचिव सुवाश घिसिङ, जिल्लामा कार्यरत सञ्चारकर्मी तथा आदिवासी जनजाति नेताहरु लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*