सर्लाहीको बाहुनीमा ७ करोडको बौद्ध गुम्बा बन्ने

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ११ बाहुनीमा गुरु रिन्पोछे ट्रस नेपालको ७ करोडको लगानीमा गुम्बा निर्माण गर्ने भएको छ । प्रस्तावित गुम्बा निर्माणका लागि स्थानीय याङरी माया स्याङतान र उनकी भाइ सरद बाबु स्याङतानले ५ कठ्ठा १० धुर जग्गा गुम्बाको नाममा दान गरेका छन् ।
बाहुनी युवा सरोकार समाज नेपालले गुम्बाको सहयोगार्थ आयोजना गरिएको बृहत साँस्कृतिक कार्यक्रममा दिदीभाइले संयुक्त रुपमा जग्गा दान गरेका हुन् । गुम्बा निर्माणका लागि १० कठ्ठा बराबरको नम्बरी जग्गा आवश्यक परेकाले आफुहरुले सकेको सहयोग गरेको याङरीमायाले बताइन् । थप साढे ४ कट्ठा जमिन खरिद गर्न १५ लाख रुपैयाँ आवश्यक परेकाले गुम्बाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममार्फत शनिवार मात्रै ८ लाख ७५ हजार ६ सय साठी रुपैयाँ संकलन गरिएको छ । पूर्वनेकपा एमालेका जनवर्गीय संगठन जिफन्ट सहयोग समुहका साउदी अरब संयोजक राज तामाङको पहलमा पनि रु २ लाख रुपैयाँ रकम संकलन भएको छ । त्यस्तै प्रमुख अतिथि समेत रहेका प्रदेश सभा नम्बर २ कि सदस्य बेची लुङ्गेलीले पनि पुण्यको कार्य भएकोले आफ्नो तर्फबाट नैतिक, भौतिक र आर्थिक रुपमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्काले पनि आफ्नो एक महिनाको तलब बराबरको रकम गुम्बा निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अबको ४५ दिन पछि आर्थिक संकलनको सम्पूर्ण काम सकाएर समितिको बैठक बसी जिल्लाकै नमुनाको रुपमा स्थापना हुन लागेकि गुम्बा निर्माणका कार्य थालनी हुने सर्लाहीबाट पत्रकार राजु लो तामाङले जानकारी दिएको छ ।
कार्यक्रममा गुम्बा प्रबर्द्धन विकास बोर्डका पुर्वसदस्य तथा नेकपाका युवा नेता सुरेन्द्र लामा, ११ नं. का वडा अध्यक्ष दिपक बोम्जन, समाजसेवी नारायण मगर, प्रस्तावित गुम्बाका प्रमुख लामा, पत्रकार, स्थानीय बुद्धिजिबी व्यक्तिहरुको सहभागीता रहेको थियो ।
बाहुनी युवा सरोकार समाज नेपालका अध्यक्ष रमा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक राज तामाङले सञ्चालन गरेका थिए ।