बँदेललाई थापेको धरापमा मान्छे परेपछि…

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार २३:२७

बुटवल – प्रहरीले रुपन्देहीको तिलोत्तमा-११ बाट गाडिएको अवस्थामा एक व्यक्तिको शव बरामद गरेको छ । बरादम गरिएको शव तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतमको रहेको प्रहरीले जनाएको छ ।

स्थानीय पाँच युवाले वस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि थापेकाे धरापमा गाैतम परेका हुन् । युवाहरुले वैशाख १ गते राती तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुतेका थिए ।

भोलिपल्ट बिहान चार बजेको समयमा गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा विद्युतीय धरापमा परेका हुन् । धरापमा परेर गौतमको मृत्यु भयो । उनीसँगै बँदेल पनि पर्‍यो । त्यसपछि तिलोत्तमा-११ का चन्द्रबहादुर थापा, नरबहादुर पुन, उपेन्द्रबहादुर शाह, अमर पुन र माइला भन्नेले गौतमको शवललाई उठाएर देवदह-९ को मिलन सामुदायिक वनको झाडीमा खाडल खनेर गाडेका प्रहरीले जनाएको छ ।

परिवारले गएको ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा गाउँका तीन जना युवालाई सोधखोज गर्दा घटनाका विवरण बताएपछि घटना बाहिर आएको हो । प्रहरीले मंगलवार राति ११ बजे शव गाडेको स्थलमा ती युवाहरूको सहयोगमा नै पुगेको     थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले पाँच जना युवा प्रहरीको नियन्त्रणमा रहेको बताए । उनीहरूले ३ फिट गहिरो खाडल खनेर गौतमको शवलाई गाडेका फेला परेको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने बताए । गौतम सोही बनको हेरालु समेत रहेका थिए । गौतमका एक छोरी र श्रीमती छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*