एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश
 
 काठमाडौ : सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम आदेशमा एनसेलसँग कर लिने कार्य वैशाख २४ गतेसम्मका लागि रोक्न भनिएको छ ।
करको निर्णयविरुद्ध एनसेलकातर्फबाट कानुन अधिकृत रमेश घिमिरेको सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले अन्तरिम आदेशसँगै ठूला करदातासँग लिखित जवाफसमेत माग गरेको छ । अब एनसेल कर प्रकरणमा रिट निवेदक र ठूला करदाता कार्यालयबीच छलफल भएपछि मात्रै कति कर तिर्ने भनेर टुंगो लाग्ने भएको छ ।
ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर तिर्नुपर्ने हिसाब निकालेको छ । एनसेलले अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउन बाँकी रहेको जिकिर सर्वोच्च समक्ष लिएको छ।

 तामसालिङ खबर
तामसालिङ खबर




