विप्लवका १ सय ४९ जना कार्यकर्ता छुटे

तामसालिङ खबर
१७ बैशाख २०७६, मंगलवार ११:१६

काठमाडौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो ।

आपराधिक र विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै गत २८ फागुनमा राजनीतिक रूपमा कुनै पनि गतिविधि गर्न नपाउने गरी विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

स्रोतका अनुसार बिनाकारण पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि प्रहरीले समेत बिनाकारण विप्लव निकट नेता कार्यकर्तालाई पक्राउ गर्न छाडेको छ ।

प्रहरीले सरकारले लगाएको प्रतिबन्धपछि सो समूहका नाममा कुनै पनि गतिविधि सञ्चालन गरिएको पाइए पक्राउ गर्न भन्दै ७७ वटै जिल्लाका आफ्ना मातहतका निकायलाई निर्देशनसमेत दिएको थियो ।

प्रहरीले प्रतिबन्धयता सोमबारसम्म २ सय ९१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ। यसबीचमा प्रहरीले कुनै पनि घटनामा संलग्नता नदेखिएको भन्दै १ सय ४९ जनालाई छाडेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*