अमेरिकामा नेपाल चिनाउने ‘नेपाल डे परेड’ हुने
 
 अमेरिका – अमेरिकाको न्युयोर्कमा नेपाल चिनाउने विशेष कार्यक्रम नेपाल डे परेड यो बर्ष पनि हुने भएको छ । यहि मे १९ तारिख आईतबारका दिन न्युयोर्कको म्याहनहाटन स्थित ३८ स्ट्रीट र मडिसन एभिन्युमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०१९ हुन लागेको हो ।
सन २०१६ देखि हरेक बर्ष नेपालको गणतन्त्र दिवस, बुद्ध जयन्ती तथा माउन्ट एभरेष्ट डेको अवसर पारेर गरिदै आएको नेपाल डे परेडको कार्यकारी बोर्डको अध्यक्षमा निमा शेर्पा चयन भएका छन् ।

शेर्पाको नेतृत्वमा ३८ सदस्यीय नेपाल परेड डे बोर्ड कमिटि गठन गरेको छ । निमा शेर्पा आदीवासी जनजाती महासंघको सदस्य एबम शेर्पा संघ अमेरिकाका अध्यक्ष हुन ।
नेपाली राष्ट्रिय पोशाक दौरा शुरुवाल र टोपी तथा नेपालका विभिन्न जातजातीहरु झल्काउने पहिरन सहित मौलिक सांस्कृतिक झाँकीहरुको प्रदर्शन गर्ने गरिन्छ । भिजिट नेपाल बर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको नेपाल डे परेडलाई भव्य रुपमा सफल बनाउन न्युयोर्क स्थित नेपाली महावाणिज्यदुतावासले पनि चासो दिएको छ ।
नेपाल डे परेड २०१८ का कन्भेनर रविकिरण कोईराला सहितको टोलीले शुक्रबार महावाणिज्य दुतावासलाई नेपाल डे परेड २०१९ को बारेमा जानकारी गराएको थियो ।
निर्वाचित बोर्डले आगामी मे १९ तारिखमा हुन लागेको चौथो नेपाल डे परेड र थप दुई वर्ष नेपाल डे परेडको संयोजनको जिम्मेवारी पाएको छ । (अमेरिकाबाट संचालित अनलाइनको सहयोगमा)

 तामसालिङ खबर
तामसालिङ खबर




