पाँच नम्बर प्रदेशको नाम ‘लुम्बिनी’, राजधानी भने अझैं अन्यौंलमा
रुपन्देही – प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ। प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो । तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन।
समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ । आइतबार बसेको प्रदेशसभाको राजधानी सिफारिस गर्न बनेको विशेष समितिको बैठकले विज्ञ उपलब्ध गराइदिन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको हो । उपसमितिले शनिबार मूल समितिलाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो ।
उपसमितिले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ । प्रदेशसभाको कार्यविधिमा विज्ञहरुसँग राय सुझाव लिन सक्ने उल्लेख छ ।
जसअनुसार अब प्रदेशसभा सचिवालयले सुरक्षा, मौसमविद्, भूगोलविद्लगायत उपलब्ध गराइदिनुपर्ने हुन्छ । उनीहरुले सुझाव दिएपछि एकीकृत प्रतिवेदन तयार गरी सभामुखलाई बुझाइने छ ।
उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिस गरेको छ । सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए । लुम्बिनीको नामका विषयमा भने अधिकांश एकमत छन् । बैठकमा लुम्बिनी प्रदेशको विपक्षमा दुई जना सांसदले मात्रै राय राखेका छन्।






