एक नम्बर प्रदेशको राजधानी विराटनगर नै कायम हुने

विराटनगर – प्रदेश नम्बर १ को राजधानी विराटनगर नै कायम हुने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिका लगायतका संरचनाहरू मोरङको विराटनगर र सुन्दरहरैँचा तथा सुनसरीको इटहरी आसपास रहने निर्णय नेकपाको रहेको छ भने कांग्रेसले प्रदेश राजधानीका सम्पूर्ण संरचना विराटनगरमै राख्नुपर्ने अडान राखेको छ ।
यसअघि आईतबार नै बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि कांग्रेस र नेकपाले छुट्टाछुट्टै निर्णय गरेका हुन् । यता इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ लगायत नेकपा सांसद र प्रतापप्रकाश हाङगाम र लीला सुब्बा लगायत कांग्रेस सांसदले भने प्रदेश राजधानी धनकुटा हुनुपर्ने मागसहित प्रदेश सभामा छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् । नेकपा र कांग्रेस दुवै प्रदेश राजधानीका लागि छुट्टाछुट्टै प्रस्ताव दर्ता गराउने तयारीमा छन् ।