पशुपन्छी पाल्न कडा प्रतिबन्ध, मासु खाए ५० हजार जरिबाना

तामसालिङ खबर
५ जेष्ठ २०७६, आईतवार ०८:३८

गोरखा – गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । चुमनुब्री गाउँपालिकाको ४ नम्बर वडाले यस्तो निर्णय गर्दै कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्ने भएको छ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए।

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै–हुँदैन ।

छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’ चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*