प्रधानमन्त्रीद्वारा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास

धादिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् । सोमबार धादिङको गल्छीमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।
नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधिको पहुँचमा जोड्ने योजना सुरु गरेको छ । योजना अनुसार प्रदेश नम्बर १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ ।
टेलिकमले प्रदेश नम्बर १ को पाँचथरको चिवाभञ्ज्याङदेखि गण्डकी प्रदेशको गोरखाको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको छ ।
अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ ।