गोर्खा कपको उपाधि एफ.सी तुङ्बाले उचाल्यो
लण्डन – नेपाल समुदाय बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधी एफ.सी.तुङ्बाले हात पारेको छ । आइतबार २६ मेका दिन तमुधिं युकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गोर्खा कपको १७ औं संस्करण सम्पन्न भएको हो ।
निर्धारित समयमा खेल १–१ गोलमा टुंगिएपछि पेनल्टी सुट आउटमा रेडिङ्ग युनिटीलाई २ को विरुद्ध ४ गोल प्रहार गरी एफ.सी.तुङ्बा विजयी टिम बन्न सफल भए । त्यस्तै, भेट्रानतर्फ निर्धारित समयमा ० विरुद्ध ० गोल भई खेल बरावरीमा टुंगिएपछि पेनल्टी सुट आउटमा ईलाम एफसीलाई २ विरुद्ध ३ गोल हानी केन्ट एफ.सी. विजयी बने । ३२ टिमले भाग लिएको मुख्य खेलतर्फको खेलमा रेडिङ्ग युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी बने भने एलजी लायन्सका जर्सी नं. १० सबभन्दा बढी गोल हान्ने खेलाडी बन्न सफल भए ।
१० वटा टिमले भाग लिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्लीराज थापा म्यान अफ दि म्याच बन्न सफल भए । मुख्य खेलतर्फको विजयी टिमलाई २ हजार ५०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, उपविजेता टिमलाई १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणत्र प्रदान गरियो । भेट्रानतर्फको विजयी टिमलाई १ हजार २०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । उपविजेता टिमलाई ८०० पाउण्ड नगद पुरस्कार, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । @नागरिक_खबर






