‘सारेगमपमा नेपालका प्रितम आचार्य तेस्रो
एजेन्सी, २८ जेठ । भारतमा हुने विभिन्न रियालिटी शोमा नेपाल तथा नेपाली मुलका प्रतिभाहरुले समेत कब्जा जमाउन थालेको ईतिहास लामो भईसकेको छ । यसैक्रममा पछिल्लो पटक नेपालको ईटहरी ५ निवासी ११ वर्षीय प्रितम आचार्यले समेत त्यस्तै ईतिहास कोरेका छन् ।
उनले भारतीय टेलिभिजन च्यानल जीटिभीको ‘सारेगमप लिटल च्याम्प्स’ मा तेस्रो भएर नयाँ ईतिहास रचेका हुन् । प्रतियोगिताको आइतबार भएको फाइनलमा उनी ‘सेकेन्ड रनरअप’ भएका हुन् । यो प्रतियोगिता सुगन्धा दातेले जित हासिल गरेका छन् भने मोहम्मद कैफ दोस्रो भएका छन् । शीर्ष ६ मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् ।
नेपालबाट जीटिभी रियालिटी शो’को अन्तिम प्रतिस्पर्धासम्म पुगेका यी दुईले ‘ग्र्यान्ड फाइनल’ सम्मै निर्णायक र पाहुनाहरूको मन जित्न सफल भएका थिए । कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूदेखि नै निर्णायक र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए ।






