चुरे क्षेत्रको उत्खननले मरूभूमिको विस्तार भइरहेको – मुख्यमन्त्री राउत

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार ०८:२६

जनकपुर –  दुइ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताउनुभएको छ । आइ ओ एम यूएन माइग्रेशन संस्थाद्वारा बिहिबार जनकपुरमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको प्रति ध्यानाकर्षण गराउनुभएको छ ।

चुरे क्षेत्रमा स्काभेटरले उत्खनन कार्य गर्नु अपराध भएको अवस्थामा पनि सुरक्षा निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको चर्चा गर्दै उहाँले चुरेको विनाश प्रदेश नं २ को विनास हो भन्नेतर्फ संवेदनशील हुनु जरूरी रहेको उहाले भन्नुभयो । उहाँले फितलो कानून र फितलो कार्यान्वयन गर्ने निकायका कारण प्राकृतिक स्रोतको दोहनले विपद् निम्त्याउने क्रियाकलाप बढ्दै गएको उल्लेख गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासका नाममा चुरेको उत्खनन् र सडक निर्माण नै प्रदेश नं २ मा विपद्का कारक रहेको बताउनु भयो । विपद् व्यवस्थापन सन्दर्भमा प्रदेश सरकारले छिट्टै प्राधिकरण गठनका लागि ऐनमा संशोधनको गृहकार्यमा लागि परेको बताए ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् व्यवस्थापन जोखिम न्यूनीकिरण तथा व्यवस्थापन विज्ञ डा गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुन पूर्वतयारी बारे जानकारी गराएका थिए । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*