पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडा काटिने

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार १०:५९

पोखरा– जहाज उडान, अवतरणमा प्राविधिक समस्या हुने देखिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडा काटिने भएको छ । पोखरा महानगरपालिका २६ अघौंचोकबाट दक्षिण पश्चिम, विमानस्थलदेखि पूर्वमा पर्ने रिठ्ठेपानी डाँडालाई काट्नुपर्ने भएको हो ।

जहाज उडान अवतरणमा प्राविधिक समस्या हुने भएकाले रिठ्ठेपानीको डाँडा काट्नुपर्ने विमानस्थलका आयोजना प्रमुख बिनेस मुनाकर्मीले जानकारी दिए । ‘सुरक्षित उडानका लागि डाँडोलाई २४.७ मिटर काट्नुपर्ने भएको छ,’ उनले भने, ‘त्यसको लागि वातावरणीय प्रभाव मूल्याँकनको स्टडी पनि भैसकेको छ ।’

स्थानीय जग्गा धनीसँग समन्वय गरी डाँडो छिट्टै काट्ने उनले सुनाए । बर्खायाम सुरु भएकाले पनि काम अघि बढ्न ढिलाई भइरहेको उनको भनाई छ । ‘बर्षा सुरु भइसक्यो । त्यसैले पनि अलिकति ढिलाई भइरहेको छ,’ उनले भने, ‘अब स्थानीयसँगको समन्वयमा छिट्टै काम अघि बढाउँछौ ।’

तोकिएको समय अघि नै निर्माण सक्ने गरि विमानस्थलको काम धमाधम भइरहेको छ । सन् २०२० को अन्तिम सम्म निर्माण सक्ने गरि काम भई रहेको विमानस्थल आयोजनाले जनाएको छ । @रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*