स्थानीय तहलाई असार १० गते भित्र बजेट ल्याउन संघीय सरकारको निर्देशन
हेटौडा – संघीय सरकारले स्थानीय तहलाई यही असार १० गते भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्र अनुसार असार १० भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो ।
अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले असार १० गतेसम्म बजेट पेश गरिसक्नु पर्दछ । यो व्यवस्था स्मरण गराउँदै सङ्घीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गराएको हो ।
समयमै बजेट नआए सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रावधनमा समस्या हुने अर्थ मन्त्रालयले चेतावनी दिएको छ । संघीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते भित्र पेश गर्नुपर्ने व्यवस्था छ ।






