वर्षायामको खतरा देखि मलखाद सम्मको चर्चा

तामसालिङ खबर
८ असार २०७६, आईतवार १९:१०

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले फागुन १ गतेदेखि रु एक करोड मुनिका सडक आयोजनामा सडक खन्न डोजर चलाउन नपाउने सरकारले नियम लगाए पनि ग्रामीण क्षेत्रमा यो नियम लागू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दुकुमारी शर्माले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन सम्बन्धी विधेयक ल्याउन माग गरिन् । सांसद कुमारी मेचले सुकुम्वासी समस्या समाधानका लागि तत्काल आयोग गठन गर्न र मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जाखिम रोकथामका कार्यक्रम ल्याउन सरकारसँग माग गरिन् ।

सांसद केदार सिग्देल सेती नदीको कटान रोक्न समयमै ध्यान दिन आग्रह गरे। सांसद गजेन्द्रबहादुर महतले संसद् सचिवालयले प्रदान गर्ने भनेको ल्यापटपको के काम भन्ने प्रश्न गर्दै संसद् सचिवालयको पुस्तकालयलाई व्यवस्थित गर्न माग गरे। सांसद गणेशकुमार पहाडीले सिन्धुलीको सुनकोशी र कठजौर क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाका ठाडा खोलामा बाढीको उच्च जोखिम रहेकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिए । यसैगरी प्रतिनिधिसभाको विशेष बैठकमा सांसद मेटमणि चौधरीले ‘भान्सेको बिग्रे एक दिन, कृषकको बिग्रे वर्ष दिन’ भनेजस्तो अहिले धान रोप्ने सयममा मलखादको अभाव रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद उमाकान्त चौधरीले प्रतिनिधिसभा कृषि समितिमा नेकपाका सांसद राधा ज्ञवालीले राखेको धारणाले थारु जातीलाई चोट पुगेको भन्दै उनले तत्काल माफी माग्नुपर्ने बताए । सांसद चन्दा चौधरीले रेशम चौधरीलाई उपचारका क्रममा राम्रो व्यवहार गर्न माग गरिन्। सांसद प्रेम सुवालले रोपाइँ शुरु हुँदा पनि कृषकले मल नपाएको तर्फ सरकारले ध्यान दिएको छ की छैन ? भन्ने प्रश्न गर्दै सरकार कृषकप्रति जवाफदेही हुन नसकेको गुनासो गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*