साहित्यकार छवि अनित्यको ख्याक कविता ‘घण्टाकर्ण’ (भिडियो)
हेटौडा – मकवानपुरको जन्दोबल्दो साहित्यकार छवि अनित्यले शनिबार हेटौँडामा एउटा ख्याक कविता सुनाए, कविताको शिर्षक थियो ‘घण्टाकर्ण’ । यो कविताले हेटौँडामात्र होईन देशलाई नै हल्लाउन सक्छ । हेटौँडाको न्युज क्लब नेपालमा भएको छवि अनित्यको एकल कविता वाचन तथा अन्तरक्रियामा उनले यो कविता सुनाउँदा हलभरि ताली बज्यो ।
‘यस’ हेटौँडाको सातौँ श्रृङ्खला अन्तर्गत एनएस टिभी, न्युज क्लब नेपाल र खबर ब्रेक डटकमको सहयोगमा भएको कार्यक्रममा वाचन गरिएको यो कविता सुनेर तपाईको पनि मष्तिष्क घुम्न सक्छ । साहित्यिक य़ुट्युब टिभि च्यानल एनएस टिभीमा अपलोड भएको यो भिडियो हेर्नुहोस ।
‘घण्टाकर्ण’ (कविता)
सर्जक–छवि अनित्य
एउटा थियो–घण्टाकर्ण असुर
भ्यागुतोसँग हारेको
जो जोरी खोज्थ्यो ज्यापूसँग
त्यही घण्टाकर्णको साख्खैजस्तो किन लाग्छ सरकार –
मलाई तेरो अनुहार ?
मामापाखा,
तेरो अनुहारभरि किन देख्छु कालो ख्याकको झल्को
लर्याङ्तर्याङ् गरिरहेको गुथीघरको अन्तरकुन्तरमा ?
किन जिस्क्याइराख्छस् घरीघरी
मच्छिन्द्रनाथको रथ तानिरहेको गुथियारलाई ?
किन शान्तसँग पुज्न दिन्नस् कुमारी ?
किन गाड्न दिन्नस् रमाउँदै ईन्द्रजात्राको लिङ्गो ?
अजिमाको कस्सम
टुँडिखेलमा गुरुमापा घोडाको टापमा दबाएको इतिहास
ख्वांस तेरो बुटले दब्दैन ।
नबिर्सी
जबसम्म गुथी जुटेन
दबिएरै बसिस् जहानिया दलदलमा
जबसम्म गुथी उठेन
पिल्सिएरै बसिस् पञ्च प्रपञ्चमा
तेरै सत्तारोहणका लागि
चक्रपथ घेरेर थुनेका हुन् गुथियारहरूले
नारायणहिटीको बूढो बाघलाई नागार्जुनमा
शरम गर बेमान,
आज अलिकति कमिसनको दलालीमा
गुथीलाई सामन्तवादको अवशेष देख्छस्,
गुथियारलाई भाडाको मान्छे देख्छस्
शरम गर ।
जुन दिन पालाका पाला ऐलाको मात उतारेर
सडकमा उत्रिन्छ नेपाल खाल्डो
मामपाखा खुद तँ साक्षी छस्
कसरी उल्टिन्छ सत्ता
यो समय कोही घण्टाकर्णलाई जगात बुझाउने पीरले घरभित्र बस्दैन
कोही घण्टाकर्णको भोजन हुने डरले घ्याम्पा पस्दैन
तँ मात्र तेरो काम गर
‘सुन, के भन्दैछन् थकाली –
तँ मेलम्चीको पानीमा हात हाल्
गुथीमा नहाल्
हामीलाई थाहा छ –
कतिबेला मिल्काउनुपर्छ घण्टाकर्णहरूलाई छ्वासेमा ।
भिडियो हेर्नुहोस –






