प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशन गर्ने
काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन् गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण संकलन गरेर विश्लेषण सहित नेपाली र अंग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले त्यस्तो प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा नेपाली गौरवको परिचय दिने बताए ।
आफूहरुको वर्तमान कार्यकालभित्र सक्ने यस महत्वाकांक्षी योजनाका लागि ठूलै रकम चाहिने भएकाले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरी बजेट विनियोजन हुन आग्रह गरिएको उनले जानकारी दिए । यसमा सघाउन प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिबद्धता दिइसको बताइएको छ ।
यसैबीच प्रतिष्ठानले आगामी अक्टोबर १५ देखि २० सम्म काठमाडौँमा दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन गर्ने र यसबाट अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्ध विस्तार हुने जनाएको छ । रासस






