२७ किलो गाँजासहित मनहरीबाट २ जना पक्राउ
मकवानपुर, ८ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ गणेशधाराबाट २७ केजी गाँजासहित दुई जना युवकहरु शनिबार पक्राउ परेका छन् । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष २३ को दिनेश जैसवाल र रौतहटकै माधव नारायण गाउँपालिका ५ बस्ने वर्ष ३५ को सुरेश साहलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार राति करिब ११ बजे पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
शनिबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले गणेशधारास्थित पुर्व पश्चिम राजमार्ग खण्डमा शँकास्पद रुपमा उभिएका अवस्थामा उनीहरुमाथि खानतलासी गरेको प्रहरीले जनाएको छ । दिनेशले बोकेको रातो कालो झोला भित्र लागु औषघ गाँजा ११ केजी सुरेले बोकेको सेतो बोरा भित्र लुकाई छिपाई राखेको गाँजा १६ केजी फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।






