दोलखाको प्राचिन लाप्चे गुम्बाको पुनर्निर्माण कार्य तिब्र
चरिकोट – बौद्ध धर्मको ऐतिहासिक गुम्बाको रुपमा रहेको ‘लाप्चे गुम्बा’ को पुनर्निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोच चनौटेडाँडामा अबस्थित गुम्बाको भूकम्पले पूर्ण रुपमा क्षति पुगेको गुम्बा आर्थिक अभावका कारण पुनर्निर्माण हुन सकेको थिएन ।
बौद्धधर्म गुरु खेम्पो सोनाम छिरिङ लामाले अहिले आफ्नै आर्थिक लगानी र स्थानीयको दानबाट गुम्बाको पुनर्निर्माण भैरहेको जनाएको छ । ‘बौद्ध धर्मको यो ऐतिहासिक गुम्बा हो । विगतदेखि यो गुम्बा ओझेलमा भएकाले प्रचार हुन सकेको थिएन । गुम्बा भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो,‘उनले भने,‘अहिले स्थानीयको सहकार्यमा निर्माण भइरहेको छ । गुम्बाको नक्सा विगतको भन्दा फरक भएका कारण साढे २ करोड लगानि लाग्ने छ ।’

उनका अनुसार २०७३ बाट निर्माण शुरु गरेपनि आर्थिक अभावका कारण गुम्बा निर्माण गर्न सकेको थिएन । अहिले विभिन्न निकाय र दातृसंस्थासँ सहयोग मागेर निर्माण थालेको खेम्पोको भनाई छ । लामा उत्पादनका लागि पनि गुम्बा निर्माण गरिएको उनको दावी छ । पाँच रोपनी क्षेत्रफलभित्र सो गुम्बा निर्माण भइरहेको छ । गुम्बा साढे दुइ तलाको हुने गुम्बा व्यवस्था समितिको अध्यक्ष फौदसिं तामाङले जानकारी दिए ।
गुम्बाको पुन निर्माणलाई पारदर्शी बनाउनका लागि गुम्बा निर्माण समिति गठन गरिएको छ । समितिका अध्यक्ष रामबहादुर तामाङले आर्थिक व्यवस्थापन भयो भने दुई वर्षभित्र गुम्बाको फाइनल रुपमा हस्तान्तरण गर्न सकिने बताए ।
प्राचिन गुम्बाकै रुपमा रहेको उक्त गुम्बा कानूनी रुपमा भने २०५१ चैत ८ गते दर्ता भएको थियो । खेम्पो लामाले गुम्बा निर्माणमा ठूलो बजेट आवश्यक भएका कारण समाजसेवीहरुसँग आर्थिक सहयोगका लागि अनुरोध समेत गरेका छन् ।






