दैलेखमा पेट्रोलियम अन्वेषण कार्यक्रम

दैलेख – कर्णाली प्रदेशको दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताए ।
अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ ।
त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उनले दिए । जमिनबाट चार दशमलव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।