तिन नम्बर प्रदेशको राजधानी हेटौडामा ६० प्रतिशत बजेट खर्च
हेटौंडा : तिन नम्बर प्रदेश सरकारले हाल सम्म खर्च गरेको रकम मध्ये आधा बढि रकम राजधानी रहेको जिल्ला मकवानपुरमा खर्चिएको छ । हालसम्म भएको खर्चको ६० प्रतिशत बढि रकम मुख्यमन्त्री डोरमणि पौडेलको गृहजिल्ला समेत रहेको मकवानपुरमा खर्च भएको हो ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार मकवानपुरमा असार २५ गतेसम्म ९ अर्ब ३६ करोड ३९ लाख ३२ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ । प्रदेश ३ को १३ जिल्लामा यस अवधिमा जम्मा १५ अर्ब ९८ करोड ४९ लाख ४ सय ९९ रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।
मकवानपुर पछि चितवनमा सबैभन्दा बढि कुल खर्च मध्ये एक अर्ब ६ करोड ५७ लाख ९७ हजार ६ सय ७२ खर्च भएको छ । प्रदेश भित्रका एक सय ६१ निकायले विभिन्न जिल्लामा गरेको काम मध्ये भक्तपुरमा छुट्याइएको बजेटमा सबैभन्दा धेरै ६० दशमलव ५७ प्रतिशत खर्च भएको छ ।
भक्तपुरले ४६ करोड ६९ लाख ३९ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको हो । सबैभन्दा कम बजेट प्राप्त गरेको रसुवामा हालसम्म जम्मा १४ करोड ४४ लाख २२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्ष सकिन ६ दिन बाँकी हुँदा प्रदेश ३ सरकारको ४४ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयकाअनुसार चालु आर्थिक वर्षको असार २५ गतेसम्म १५ अर्ब ९८ करोड ४९ लाख ४ सय ९९ रुपैयाँ खर्च भएको हो। प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले असार अन्तिम एक सातामा कुल बजेटको १६ प्रतिशत बढि भुक्तानी हुने अनुमान गरेको छ। करिब ६० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी शर्माले बताए । उनले भने, ‘धेरै काम भएको छ, तर खर्च भुक्तानी हुन अझै बाँकी देखिन्छ।’ #अन्नपुर्ण_पोस्ट_डटकम






