सर्लाहीमा दुई दिन देखि विद्युत् अवरुद्ध
सर्लाही – सर्लाहीमा दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा नागरिक मारमा परेका छन् । लगातारको वर्षा र हावाहुरीले जिल्लामा बिहिबार बिहानदेखि विद्युत् अवरुद्ध छ । रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनमा पानी र हावाले रुख ढलेर बिजुलीको तारमा परेकाले विद्युत् सूचारु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ ।
एक ठाउँमा बनायो, अर्को ठाउँमा समस्या आउने भैरहेको प्राविधिकले बताएका छन् । पानीमा भिजेर काम गर्नुपर्दा प्राविधिक समेत बिरामी पर्न थालेका छन् । प्राविधिक मोहन श्रेष्ठले राती ११ बजेसम्म काम गर्दा पनि विद्युत् सूचारु गर्न नसकिएको बताउनुभयो । पानी पर्ने क्रम झन् बढेकाले मर्मतको काम गर्न समस्या भैरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
तर वर्षाको बाबजुत् पनि मर्मतको काम गरेर आज साँझसम्म विद्युत् सूचारु गर्ने गरी काम गरिरहेको प्राविधिकहरुले बताएका छन् । बुधबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा जिल्लाभर बिजुलीबाट हुने काम ठप्प भएको छ ।
सर्वसाधारणलाई मोवाइल चार्र्ज गर्न समेत समस्या भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको बिजुलीको प्रशारण लाइनका धेरैजसो भू–भाग जङ्गल क्षेत्र पर्ने भएकाले पानी पर्नासाथ र हावा चल्ने बित्तिकै बिजुलीको तारमा रुखका हाँगाबिँगा खस्दा घण्टौं बिजुली अवरुद्ध हुने गरेको छ ।






