आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने
हेटौँडा – आज (शनिबार) पनि देशका अधिकांश स्थानमा हुरीबतास सहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ । आज भने लगातार झरी पर्ने सम्भावना कम रहेको मौसमविद् श्रेष्ठले बताए । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने उनको भनाइ छ ।
यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन उनले आग्रह गरे । झरी नपरे पनि सोमबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको श्रेष्ठले बताए ।






