जनकपुर-जयनगर रेल्वे ट्रयाक बढीले बगायो
जनकपुर – जनकपुर-जयनगर रेलमार्ग सुरु हुनुअगावै टुटेको छ । विगत चार दिनको अविरल वर्षापछि कमला नदीमा आएको बाढीका कारण रेलमार्ग टुटेको हो । जनकनन्दनी गाउँपालिकाको खजुरी स्टेशन भन्दा पूर्व इनर्वा नजिक कमला नदीको बाढीले ६० देखि ७० मिटर रेलवे ट्रयाक बगाएको छ ।
कमला नदीको बाँध भत्किएपछि पानीको बहाव तिव्र हुँदा नवनिर्मित रेलवे ट्रयाक बगेको छ । कमला नदीमा आएको बाढीले धनुषाको पूर्वी भेग बढी प्रभावित भएको छ । जनकनन्दनी गाउँपालिकाको ईनर्वालाई केन्द्र बनाएर नेपाली सेनाको हेलिकप्टरले राहत पुर्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताएका छन् ।
नेपाल रेलवे साइट कार्यालयका प्रमुख विनोद ओझाका अनुसार इनर्वा बाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले रेल्वे ट्रयाक बगाएको बताएका छन् । बाढिले रेलवे ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको बताए ।
अक्टोबरदेखि सञ्चालन हुने भनिएको जनकपुर–जयनगर रेलासेवा लम्बिने भएको छ । सरकारले यसै वर्षको अक्टोबरदेखि रेल सञ्चालन गर्ने तयारी गरेको थियो । रेलसेवा सुरुगर्न रेल विभागले भारतसँग झण्डै तीन अर्ब खर्चेर रेल खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको छ । –नेपाल समय






