बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई, कांग्रेस मकवानपुरले २५/२५ हजार प्रदान गर्ने
साउन २, हेटौंडा – गत बिहिबार परेको अविरल वर्षाको कारण बाढी पहिरोमा परि ज्यान गुमाएका मकवानपुरको परिवारलाइ नेपाली कांग्रेस मकवानपुरले ५ जना व्यक्तिका परिवारलाई राहतस्वरुप २५/२५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
विहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर मृतकका परिवारलाई जनही २५/२५ हजारका दरले दिने निर्णय गरेको हो ।
बैठकले वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ । नेविसंघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा विहान ११ वजे विचार गोष्ठी गर्ने भएको छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा ११ मा रहेको वीपी बाटिकामा विहान वृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा मध्यान्ह १२ बजे विचार गोष्ठी र साउन ७ गते विहान ७ः३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने निर्णय कांग्रेस मकवानपुरको बैठकले निर्णय गरेको छ ।
त्यसैगरी कांग्रेस मकवानपुरको बैठकले कांग्रेस मकवानपुरका जिल्ला सदस्य महेन्द्र राउतको पिता तथा कांग्रेस हेटौंडा १ का सचिव बमबहादुर राउतको असामयिक निधनप्रति शोकप्रस्ताव पारित तथा अविरल वर्षा एवं बाढीपहिरोमा परि ज्यान गुमाएकाहरुको परिवार समवेदना प्रकट गर्दै सरकारसंग तत्काल राहत उपलब्ध गराउनसमेत माग गरिएको छ ।






