आरक्षण पक्षधर पक्राउको विरोधमा काठमाडाैंमा जुलुस निकालिदै
साउन ४, काठमाडौं – आफ्नाे नेता तथा कार्यकताहरु माथि अनावश्यक दमन गरी पक्राउ गरिएको विरोधमा आरक्षण बचाऔ आन्दोलनले आज शनिबार बेलुकी ५ बजे काठमाडौंमा विरोध जुलुस निकाल्ने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आफ्नो आन्दोलनकारीहरु पक्राउ गरिएको विरोधमा काठमाडौंको भृकुटीमण्डप देखि विरोध जुलुस निकाल्ने तयारी भएको बताए ।
आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम लगायत समुदायको सहभागिता भएको आन्दोलनले लोकसेवा आयोगको स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धी विज्ञापन खारेज गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ । सो क्रममा शनिबार प्रदेश नं १ बन्द गरिएको छ । बन्द गराउँदै हिड्ने आरक्षण पक्षधर कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीबाट आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राई सहित १५ जनालाई दुव्र्यवहार गर्दै प्रहरीले पक्राउ गरेको छ ।
खोटाङमा विज्ञापन विरुद्ध लोकसेवाको प्रश्नपत्र च्यात्न पुगेका दुई जना राई र दुई जना दलित कार्यकर्ता पक्राउ परेका छन् । महासंघले विराेध जुलुसमा सहभागी हुन सबै न्यायप्रेमीहरूसँग अपिल समेत गरेकाे छ ।






