१२ औं शारीरिक सुगठनमा समिरलाई स्वर्ण
साउन ४, काठमाडौं – १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनको पुरुष तर्फ ६५ केजीमा नेपालका समिर श्रेष्ठले स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो हुन सफल भयो भने नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए ।
पहिलो दिन ६ स्पर्धामा प्रतिस्पर्धामा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । पुरुष तर्फको ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोश्रो भए । पुरुष तर्फको ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए । भारतका दिपु पहिलो र अफ्गानिस्तानका मोहम्मद कसिम हुसैन तेश्रो बने ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे । अफ्गानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए ।
प्रतियोगिताको महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हासिल गरेको छ । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते । भारतकी निशा भोयर पहिलो स्थानमा भईन् । पुरुष फिट्नेस फिजिकमा नेपालका राजु राईले रजत प्राप्त गरे । अफ्गानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेश्रो भए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।






