गोली प्रहारबाट बारामा एक युवकको मृत्यु
साउन ६, बारा – बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर – १ बगहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । बारा र पर्सा जिल्लाको सिमाना रहेको बगही नहर छेउमा करिब २१ वर्षका युवकको कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भएपनि उनको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठौरले बताए ।
मृतक युवकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए । मृतक युवकको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।






