पञ्जाबमा महिलालाई नर्सरीदेखि पिएचडीसम्म नि:शुल्क शिक्षा दिने घोषणा
साउन ७, भारत – भारतको पञ्जाब सरकारले महिलाको लागि नर्सरीदेखि पिएचडीसम्म नि:शुल्क शिक्षा दिने घोषणा गरेको छ । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पञ्जाब प्रदेशका विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने महिलालाई आउँदो शैक्षिक सत्रदेखि नर्सरी देखि पीएचडीसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएको छ ।
विद्यार्थीलाई कपि र किताब समेत नि:शुल्क उपलब्ध गराइने पञ्जाब सरकारले जनाएको छ । उनीहरुले नि:शुल्क रुपमा इन्टरनेट मार्फत डाउनलोड समेत गर्न सक्ने मुख्यमन्त्री सिंहले बताउनु भएको छ ।
सरकारले अर्को वर्षदेखि नर्सरी र एलकेजी कक्षा समेत सञ्चालन गर्ने जनाएको छ । आफूले चुनावमा गरेको प्रतिवद्धता अनुसार १३ हजार सरकारी विद्यालयमा निशुल्क वाइ-फाई उपलब्ध गराउने उनले जानकारी दिए ।
सन् २०११ को तथ्याङ्क अनुसार भारतको साक्षरता दर ७३.० प्रतिशत छ भने पञ्जावको साक्षरता दर ७५.८४ प्रतिशत रहेको छ । पञ्जावमा १ करोड ८७ लाख ७ हजार १ सय ३७ मध्ये ८०.४४ प्रतिशत पुरुष र ७०.७३ महिलाहरुको साक्षरता दर रहेको छ ।






