माइला लामा लगायत सबै राजबन्दीलाई विना शर्त रिहा गर भन्दै विप्लवको कडा विज्ञप्ती
साउन ८, काठमाडौं – प्रतिबन्धित समूह नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ती जारी गर्दै सामाजिक फासीवादी केपी-पिके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य, उपत्यका इन्चार्ज तथा जनकलाकार माइला लामालाई गिरफ्तार गरेकोप्रति घोर भर्त्सना गर्दै जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको बिज्ञप्तिमा उल्लेख छ ।
केपी-बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।
यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने बिज्ञप्तीमा भनिएको छ ।







