इन्द्रसरोबरमा तिन मृतकको परिवारलाई कांग्रेस मकवानपुरले ७५ हजार सहयोग
साउन ८, हेटौडा (कुलेखानी) – गत असारको अन्तिम सातामा अविरल वर्षातपछि गएको बाढीपहिरोबाट इन्द्रसरोबर गाउँपालिकामा मृत्यु भएका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले बुधबार राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहत स्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गर्नुभएको हो । गत असार ३० गते अविरल वर्षाको कारण इन्द्रसरोबर गाउँपालिका १ टौमाटकी एकै परिवारका आमा ४२ वर्षिया कान्छी रञ्जितकार र छोरी १७ वर्षिया बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहतस्वरूप सहयोग गरिएको हो ।
त्यस्तै, कांग्रेस मकवानपुरले इन्द्रसरोबर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार राहतस्वरूप रकम सहयोग गरेको छ । ईन्द्रशरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले समेत राहतस्वरूप प्रति परिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ ।
त्यस्तै इन्द्रसरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रशरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रशरोबर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा ११ सभापति विष्णु खनाल, महिला संघ इन्द्रसरोबर संयोजक निर्मला रुम्बा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिने निर्णय अनुसार यसअघि मंगलबार थाहानगरको ३ मा बलामी परिवारलाई राहत दिईएको हो ।






