चेपाङ संघको नेतृत्वको लागि बिष्णुराम, दिनेश र पूर्णबहादुर दौडधूपमा

तामसालिङ खबर
२६ श्रावण २०७६, आईतवार १९:५७

साउन २६ हेटौडा – नेपाल चेपाङ संघ मकवानपुरको जिल्ला अधिबेशन नजिकिदै संगै नेतृत्वको लागि दौडधूप सुरु भएको छ । संघको नेतृत्व चयनका लागि आगमी साउन ३१ गते शनिबार जिल्ला अधिबेशन हुँदैछ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि पहल गरिएपनि नेतृत्व चयनका लागि निर्वाचन हुने देखिएको छ ।

अध्यक्ष पदका लागि बर्तमान जिल्ला कार्यकारिणी समितिका सहसचिव दिनेश चेपाङले तयारी गरेको बुझिएको छ । त्यसैगरी संघका पूर्व केन्द्रीय सदस्य बिष्णुराम प्रजा (चेपाङ) ले यसपटक जिल्ला अध्यक्ष चलाउने दाबी गरेका छन् । संघको मनहरी गाउँ कार्य समितिको पूर्वअध्यक्ष समेत रहेको पूर्णबहादुर प्रजा यसपटक जिल्ला नेतृत्वको निम्ति लागि परेका छन् ।

यसपटक अध्यक्षमा दाबी गर्नेहरु राजनीतिक रुपमा दुई ठूला पार्टीका छन् । बामपन्थी उम्मेदवारका रुपमा दिनेश देखिएका छन् भने बिष्णुराम प्रजा नेपाली काँग्रेसका प्रभावशाली जिल्ला नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव समिति भइसकेका नेतामा गनिन्छन् ।

जिल्ला अधिबेशनका लागि प्रतिनिधिको दायरा कस्तो बनाउने भन्नेबारे सचिवालयले तयारी गरिरहेको छ । संघले ३ नं प्रदेशको अधिबेशन भदौ १४ गते र गण्डकी प्रदेशको अधिवेसन भदौ ७ गतेलाई तोकेको छ ।

मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका चेपाङ बाहुल्यता बढी रहेको छ भने हेटौँडा उपमहानगर, भीमफेदी, बकैया लगायत गाउँपालिकामा पनि बसोबास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*