अन्तरवार्ता सार्वजानिक गर्नेलाई कार्वाही गर्छौ – प्रहरी प्रमुख मल्ल
भदौ ७, चितवन – चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाइरहेकै बेला हिरासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो ।
अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन् । हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अन्तरबार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताए ।
रविलाई हिरासतमा भेट्न गएका एक सञ्चारकर्मीले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी सञ्चारकर्मी रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन् ।






