डेंगुको संक्रमणबाट एक जनाको मृत्यु
भदौ २०, हेटौडा – लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौं स्थित भेनस अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको हो । अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको थियो ।
डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए ।
टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।






