‘घरपरिवार भन्दा काँग्रेस ठूलो’ भन्दै कांग्रेस मकवानपुरको एक नेताद्वारा आत्महत्या
भदौ २०, मनहरी – नेपाली काँग्रेसका क्षेत्रीय स्तरका नेता चतुर्भुज न्यौपानेले आत्महत्या गरेका छन् । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर १ मकरीका स्थायी बासिन्दा न्यौपानेले बुधवार साँझ घरमा बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको बिहिबार साँझ चितवनको भरतपुरमा निधन भएको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
नेपाली काँग्रेस मकवानपुरको ४ नं क्षेत्रीय समितिका सदस्य समेत रहेका न्यौपानेले बिष सेवन गर्नुअघि सुसाइड नोट छाडेको नेपाली काँग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीले जानकारी दिए ।
सुसाइड नोटमा आफ्नो घरपरिवार, ऋण लगायत सामाजिक र राजनीतिक बिषयमा टिप्पणी रहेको संयोजक पराजुलीले बताए । सुसाइड नोटमा उनले आफूले निरन्तर पाँचबर्ष मकरी बृहत खानेपानीको अध्यक्ष भई निस्वार्थभावले काम गरेको उल्लेख गर्दै काम सम्पन्न गरी उद्घाटन गर्न आफूले नभ्याएको लेखेका छन् ।
त्यसैगरी उनले आफू र आफ्नो परिवारभन्दा नेपाली काँग्रेस ठूलो भएको भन्दै पार्टीले नै आफ्नो अन्त्येष्टि गरोस् भन्ने आशय सुसाइड नोटमा ब्यक्त गरेको पाइएको छ । घरमा भएको सामान्य विवादका कारण बिष सेवन गरेको पाइएको छ । उनको शुक्रबार दिउँसो हेटौँडास्थित राप्तीतटमा अन्त्येष्टि गरिएको छ ।
उनको शवमा ३ नं प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एबम् काँग्रेस जिल्ला सभापति इन्द्रबहादुर बानियाँले चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
उनी स्थानीय सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहने गर्दथे भने सामाजिक कामहरुमा सदैव चासो व्यक्त गर्थे । नेपाली काँग्रेस क्षेत्रीय समिति सचिवमा पराजित भएपछि उनलाई पार्टीले क्षेत्रीय सदस्यमा मनोनीत गरेको थियो । मनहरीलाइभबाट






