असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्छौ – मन्त्री मगर
भदौ २०, सिन्धुपाल्चोक – खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताएका छन् । सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा सभामा मन्त्री मगरले यस्तो बताएकी हुन् ।
‘नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ । दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन्,’ उनले भनिन, ‘भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन् । अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन् । तर, नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सामेल छन् ।’
खुला दिसा मुक्त घोषणा अभियान एक सामाजिक अभियान भएको मन्त्री मगरको भनाइ छ । ‘खुला दिसा मुक्त घोषणा अभियान एक सामाजिक अभियान हो यो अभियानलाई हामी महाअभियानको रूपमा अघि बढाउदै पूर्ण सरसफाइको अभियानमा गुरुयोजना बनाएर काम गर्दैछौं,’ उनले भनिन् ।
मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरुको माग सरकारले छिट्टै समाधान गर्ने बताइन् । ‘हामी नेपाली कामदार, स्थानीय टेन्डर र अन्य सरोकारवालाका मागप्रति गम्भीर छौं । तर, कानुनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं, उनले भनिन्, ‘वैधानिक बाटो खोजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं ।’
प्रतिनिधि सभाका सांसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लालाई खुला दिसा मुक्त जस्तै खानेपानी समस्या मुक्त जिल्ला बनाउनुपर्ने माग गरे । यस्तै जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालयहरु निर्माण भइ प्रयोगमा आएपछि सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताए ।
सिन्धुपाल्चोक जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय पालिकाहरु छन् । सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये ६८ औं स्थानमा परेको छ ।






