काठमाण्डौमा बिजुली बस संचालन, यस्तो छ रुट
भदौ २३, काठमाण्डौ – काठमाडौँ महानगरपालिकामा सोमबार देखि विद्युतीय बस संचालन भएको छ । सोमबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बिजुली बसको सेवा शुभआरम्भ गरेका छन् ।
पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार पहिलो चरणमा चारवटा बस सञ्चालन गरिने छ ।
सरकारले विद्युतीय बस सञ्चालन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन नराखिदिएको अध्यक्ष थापाले बताए । अहिले यातायातले तीन ठाउँमा चार्जिङ स्टेसन राखेको छ। थप चार ठाउँमा स्टेसन राख्न तयारी भइरहेको थापाले बताए । विद्युतीय बसको प्रयोगले प्रेट्रोलियम पदार्थको संकट र प्रदूषण घटाउने उनको दाबी छ ।
बस एकपटक चार्ज गरिसकेपछि २६८ किलोमिटरसम्म गुड्न सक्छ । अहिले ल्याएका बस दुई साइजका छन् । एउटा ४० सिट क्षमताको र अर्को ३० सिट क्षमताको छ । आउँदो एक महिनामा सुन्दर यातायातले १८ विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । ११ वटा थप बस खरिद भइसकेको छ ।
सुन्दर यातायातको ११ करोड र चाइनिज बिएके कम्पनीको थप ७५ प्रतिशत लगानी रहेको थापाको भनाई छ । नेपाल सरकारको चालु भाडा दर अनुसार नै विद्युतीय बसमा भाडा लिइने थापाले बताए । तर सरकारले तोकेको भाडादरमा २० प्रतिशत छुट यात्रुलाई उपलब्ध गराउने उनले जानकारी दिए ।
यस्तो छ रुट–
बिजुली बस रिङरोड, नारायणस्थान हुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ । सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा काठमाण्डौका ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।
साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।
त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ । विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।






