डेंगु देखिए, एन्टिबायोटिक्स ‘नखानू’
भदौ, काठमाडौं – डेंगु पोजेटिभ देखिएपछि काठमाडौं -१५ की सरिता तण्डुकारले घरनजिकै जँचाइन् । चिकित्सकले एन्टिबायोटिक्स औषधि खान सुझाए । उनले त्यसै गरिन् तर सञ्चो भएन । उनी सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् ।
त्यहाँका चिकित्सकले एन्टिबायोटिक्स नखान सल्लाह दिए । तब पछुतो लागेको उनले सुनाइन् । एन्टिबायोटिक्स किन्दा उनको झन्डै ५ सय खर्च भएको थियो । कतिपय चिकित्सकले उक्त औषधि तीन दिनको लागि सिफारिस गरेको बिरामीले बताएका छन् ।
अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार डेंगु भनेको भाइरल ज्वरो हो । ‘यस्तो अवस्थामा एन्टिबायोटिक्स खानुपर्दैन’, उनले भने, ‘ब्याक्टेरियाको संक्रमण भएपछि एन्टिबायोटिक्स सेवन गर्ने हो ।’ कतिपयले संक्रमण भएका बेला सागसब्जी खान नहुने सुनेको उल्लेख गरे । ‘कसले भन्यो यस्तो कुरा ? सागसब्जी प्रशस्त खाए हुन्छ’, उनले भने, ‘सिटामोल र झोल पदार्थ पनि खानुहोस् ।’
अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार डेंगु संक्रमितले एन्टिबायोटिक्स सेवन गर्नुपर्दैन । ‘साधारण खालको क्लासिकल डेंगुका बिरामी देखिएका छन्’, उनले भने, ‘ज्यान लिने खालको छैन ।’ साधारण संक्रमितले घरमै आराम गर्दा लाभ हुने उनको भनाइ छ । ‘ज्वरो आए वा शरीर दुखेको छ भने सिटामोल खाए हुन्छ’, उनले भने, ‘त्यसपछि जीवनजल खाए हुन्छ ।
झोलिलो पदार्थ खाँदा फाइदा हुन्छ ।’ रगत पातलो गराउने औषधि सेवन गर्न नहुने उनले बताए । प्लेटलेट्स घटेको अवस्थामा चिकित्सकसँग परामर्श गर्न उनले सुझाव दिए । #अन्नपुर्ण_पोस्ट






