भीमदत्त नगरपालिकाको वडा कार्यालय र नगर प्रवक्ताको गाडीमा आगजनी

भदौ २७, कञ्चनपुर – कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमति सहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
यसैबीच, कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा समेत अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका – ७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमूख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।’