काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित
भदौ २९, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठक स्थगित भएको छ ।
काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले काङ्ग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै काङ्ग्रेस सांसदहरुले उठेर विरोध गरेका छन् ।
पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिनुभएको जवाफ चित्त नबुझेपछि काङ्ग्रेस सांसदहरुले उठेर विरोध गरेको थियो । सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगन गर्नुभएको थियो । स्थगन गरिएको बैठक करीब दुई घण्टापछि शुरु भएको थियो ।
सभामुख महराले दोस्रो बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । बाँके घटनाका दोषीको किटान गरी दिएको उजुरी दर्ता नभएको, घटनाका दोषीलाई गृह प्रशासन नै बचाउन लागेको आरोप काङ्ग्रेस सांसदहरुले लगाएका छन् ।
दोस्रो बैठक पनि चल्न नसकेपछि सभामुख महराले भदौ ३० गते शनिबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।






