पुर्बी चितवनमा ‘प्रथम राप्ती महोत्सव’ हुने
असोज ७, राप्ती – पुर्वी चितवनको राप्ती नगरपालिकामा पहिलोपटक ‘कृषि पर्यटन र ब्यापार, राप्तीको बिकासको मुल आधार’ भन्ने नाराका साथ प्रथम राप्ती महोत्सवको आयोजना गरिने भएको छ ।
उद्योग बाणिज्य संघ राप्ती र राप्ती नगरपालिकाको संयुक्त आयोजनामा असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म महोत्सव गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । राप्ती नगरपालिका ७ बिरेन्द्रनगरमा हुने महोत्सवको असोज २९ गते नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्ने आयोजकले बताएको छ ।
महोत्सवले स्थानीय उत्पादन र सेवालाई प्रथामिकतामा राखि नगरको पहिचानसँगै आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकासमा भुमिका खेल्ने राप्ती नगरपालिकाका उप-प्रमुख इमानसिहँ लामाले बताए । उनले भ्रमण बर्ष २०२० सफल बनाउन यस्तो गतिविधि हुनुपर्ने बताए । महोत्सव मुल समारोह समितिका संयोजक तथा उद्योग बाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कँडेलले चेपाङ र थारु समुदायको पहिचान झल्कने कला, सँस्कृति तथा परम्परागत प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने बताए ।
महोत्सवमा कृषि प्रदर्शनीलाई प्रथामिकता दिइएको उनले जानकारी दिए । माछापालन, मौरीपालन तथा रेशम खेतिसम्बन्धि बिशेष प्रदर्शनी महोत्सवमा रहने उनको भनाई छ । परेवाकोट, कमीनचुली लगायत विभिन्न पर्यटकिय स्थलहरुको प्रबद्र्धन तथा अवलोकन गराउने, डुङगा तथा हात्ती सयर, जीप सफारी लगायत कार्यक्रमहरु महोत्सवमा समेटिएका छन ।
दैनिक रुपमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु प्रमोद खरेल, बद्रि पंगेनी, पशुपति शर्मा, रामजी खाँड, ज्योति मगर लगायत दर्जनौ कलाकारको प्रस्तुति रहने संघका महासचिव परशुराम पाठकले जानकारी दिए । स्थानीय कला संस्कृति तथा उत्पादनमा बिशेष जोड दिइने महोत्सवमा २५० वटा स्टल रहनेछन् ।
एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवको आम्दानी संघको ब्यवस्थापन तथा विभिन्न सामाजिक कार्यमा खर्च गरिने योजना छ ।
त्यस्तै संघले पुर्वी चितवन पत्रकार संघको भवन निर्माणका लागी समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । ११ दिनसम्म चल्ने महोत्सव अवलोकनका लागि बिद्यार्थीलाई ४० र अन्यलाई ६० रुपैयाको टिकट राखिएको छ ।






