फ्रिजबाट करेन्ट लागेर ३ जनाको मृत्यु
असोज ८, जनकपुर – धनुषाको एक होटेलमा फ्रिजबाट करेन्ट लागेर श्रीमान्–श्रीमती सहित ३ जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका- ७, पोर्ताहा स्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजबाट करेन्ट लागेर गए राति ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
घटना रातिकै भए पनि बिहान कोही नउठेपछि हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बिहानै होटल सञ्चालक महतोकी आमा होटलमा गई ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई गुहारेकी थिइन् । घटनापश्चात् स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएका थिए । तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएको छ ।






